काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्रक्रिया भोली (मंसिर १० गते)देखि सुरु गर्ने भएको छ। सफ्टवेयर निमार्ण र परिक्षण सम्पन्न भएसँगै दर्ताको काम भोलीबाट सुरु गर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन)’ जारी गरेको थियो । मापदण्ड जारी भएपनि सफ्टवेयर निमार्ण नहुँदा दर्ता प्रक्रिया अघि बढेको थिएन । प्राधिकरणले भोली (बुधबार) एक कार्यक्रमको बीच सफ्टवेयर लञ्च गर्ने र त्यसपछि सहकारीहरुले दर्ताका लागि आवेदन दिन सक्ने प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी बताए।
सफ्टवेयर लञ्चसँगै प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आव्हान गरिने र ६० दिन भित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु विद्युत्तीय प्राणालीमा विवरण प्रविष्ट गरिसक्नुपर्ने अध्यक्ष शर्माले बताए।
दर्ताको सम्पूर्ण काम अनलाइनबाटै हुने र सम्पूर्ण डकुमेन्ट पुगेको सहकारीको हकमा ढिलोमा दुई साताभित्र इजाजतपत्र प्राप्त हुने अध्यक्ष शर्माले बताए।
अब सहकारीहरुले प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त नगरी बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउने छैन । यदी बचत तथा ऋणको कारोबार गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने प्राधिकरणले स्पष्ट व्यवस्था गरेको छ।
प्राधिकरणले कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा संस्थाको वर्गिकरण गरी सञ्चालन इजाजतपत्र दस्तुर तोकेको छ ।
सहकारीहरुले १ हजारदेखि १५ हजार रुपैयाँसम्म इजाजतपत्र दस्तुर तिर्नुपर्ने हुन्छ । उक्त इजाजतपत्र प्रत्येक वर्षको श्रावण मसान्तभित्र नविकरण समेत गर्नुपर्ने व्यवस्था दर्ता अभिलेखीकरण मापदण्डले गरेको छ।
दर्ता अभिलेखिकरणका लागि चाहिने विवरणहरु
आधारभूत विवरण
१. सहकारी संस्थाको नाम (नेपाली र अंग्रेजीमा), ठेगाना, सम्पर्क नं., इमेल, कार्य प्रकृति, दर्ता मिति, दर्ता भएको कार्यालय र ठेगाना, कार्यरत कर्मचारी संख्या
२. वेबसाइट र सफ्टवेयरको नाम
३. शेयर सदस्य संख्या र कूल शेयर रकम
४. कार्यान्वयनमा रहेको विनियम, कार्यविधि, नीतिको नाम तथा जारी मिति
५. सञ्चालक समितिको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला र राष्ट्रिय परिचयपत्र नं, पदावधि (शुरु मिति र अन्तिम मिति)।
६. लेखा सुपरिवेक्षण समितिको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं., पदावधि शुरु मिति र अन्तिम मिति।
७. प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक वा व्यवस्थापक वा प्रबन्धकको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं., पदमा कार्यरत अवधि
८. सञ्चालनमा रहेका इकाई: सेवा केन्द्रको विवरण (ठेगाना, सम्पर्क नं.)
९. कार्यक्षेत्र
१०. सहकारी संस्थाको दर्ता प्रमाणपत्र र स्थाई लेखा नम्बर प्रमाणपत्र
११. अद्यावधिक करचुक्ता प्रमाणपत्र
१२. रकमको आधारमा ठूला १०० शेयर सदस्यको विवरण (नाम, ठेगाना र शेयर रकम)
१३. रकमको आधारमा ठूला १०० बचतकर्ता सदस्यको विवरण (नाम, ठेगाना र बचत रकम)
१४. रकमको आधारमा ठूला १०० ऋणी सदस्यको विवरण (नाम, ठेगाना र ऋण रकम)
वित्तीय विवरणः गत दुई आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
१. शेयर पूँजी
२. जगेडा तथा कोषहरु ९जगेडा कोष, संरक्षित पूँजी फिर्ता कोप, सहकारी प्रवर्धन कोप अन्य कोष।
३. कूल जोखिम भारित सम्पत्ति तथा पुँजी कोषको विवरण (प्राथमिक पुँजी कोष र अनुपाता र कुल पुँजी कोष/अनुपात)
४. सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी
५. कुल निक्षेप (साधारण, नियमित र आवधिक) र कूल ऋण प्रवाह (असल, कमसल, शंकास्पद, खराव) तथा कूल ऋण नोक्सानी व्यवस्था (वर्गीकरण अनुसार)
६. ऋण पुनर्तालिकीकरण (रकम र संख्या)
७. निष्कृय कर्जा रकम र अनुपात
८. कूल सम्पत्ति र कूल दायित्व
९. कूल संचालन आम्दानी तथा खर्च र अन्य आम्दानी तथा खर्च
१०. खुद नाफा नोक्सान
११. लेखा परीक्षकको नाम, ठेगाना, सम्पर्क नं., र आइक्यान सदस्यता नं.
अन्य विवरण
१. पछिल्लो दुई वर्षको साधारण सभा सम्पन्न भएको मिति, उपस्थिति संख्या र उपस्थिति प्रतिशत
२. गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक बसेको कूल संख्या
३. संघहरुसँगको आवद्धताको विवरण
४. विवरण प्रविष्टी गर्नेको नाम, पद, सम्पर्क नं, मिति
५. विवरण रुजु गर्नेको नाम, पद, सम्पर्क नं., मिति
६. कार्यकारी प्रमुखको स्वघोषणा
दर्ता दस्तुर
प्राधिकरणले सहकारी संस्था दर्ता अभिलेखीकरण र सञ्चालन इजाजतपत्रका लागि दस्तुर समेत तोकेको छ । कुल सम्पत्तिका आधारमा वर्गीकृत संस्थाहरुले बुझाउनुपर्ने दस्तुर यसप्रकार रहेको छ ।
गत आर्थिक वर्षको लेखापरीक्षण गरिएकाे वित्तीय विवरण अनुसार कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वः
१. २ करोडसम्म भएमा रु. १,०००
२. २ करोड भन्दा बढी १० करोडसम्म रु. ३,०००
३. १० करोड भन्दा वढी २५ करोडसम्म रु. ५,०००
४. २५ करोड भन्दा बढी ५० करोडसम्म रु. ७,०००
५. ५० करोड भन्दा वढी १ अर्बसम्म रु. १०,०००
६. १ अर्व भन्दा बढी रु. १५,०००











