काठमाडौं – नेपाल आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरबाट ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको छ । नेपाली महिला टिमको यो ऐतिहासिक सफलता हो । नेपाल ग्लोबल क्वालिफायरमा पुगेको यो पहिलो पटक हो । एसिया छनोटको सुपर थ्रीमा आज नेपालले युएईलाई ५ विकेटले हरायो । जितको लागि १ सय १५ रनको प्रतिस्पर्धात्मक चुनौती पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर राजमति ऐरी ८ रनमा र सम्झना खड्का २१ रनना आउट भए । आश गरिएकी कविता कुँवर यो खेलमा पनि क्रिजमा टिक्न सकिनन् । उनी मात्र ५ रनना आउन हुन पुगिन् । ३८ रन जोड्दा नेपालले पहिलो क्रमका तीन खेलाडी गुमायो । यसपछि कप्तान इन्दु बर्मा र उपकप्तान पुजा महतो क्रिजमा थिए । तर यी दुईले पनि ठुलो साझेदारी गर्न सकेनन् । चौथो विकेटको लागि २४ रनको साझेदारी गर्दै पुजा १३ रनना पेभेलियन फर्किन् । पुजा आउट भएपछि पुर्व कप्तान रूबिना क्षेत्रीले इन्दुलाई साथ दिइन् । यी दुईले पाँचौं विकेटको लागि ३७ रनको साझेदारी गरे । रुबिना १८ बलमा ३ चौका सहित २३ रन जोडेर आउट भईन् । कप्तान इन्दुले यो खेलमा पनि सुदबुझपुर्ण प्रदर्शन गरिन् । उनी अविजित ३० रनमा रहँदै नेपाललाई जित उिलाउन सफल भईन् ।बलिङमा मिसेल बोथा, सुरक्षा कोथे, वैश्नवी महेश र इशा ओजाले १/१ विकेट लिए ।यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल खडा गर्यो । ओपनरद्वय इशा ओजा र थ्रीता सतिशले पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरे। थ्रीता २१ रनमा राजमति ऐरीको बलमा आउट भइन्। पहिलो विकेट झार्न नेपालले १० औं ओभर कुर्नुपर्यो। इशाले २ चौका र १ छक्का सहित ३९ रन बनाइन्। यस्तै हिना होटचान्डीले २० र लाभान्या केनीले १२ रन बनाए। बलिङमा मनिषा उपाध्यायले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट झारिन्। कविया कुँवरले २ र राजमतिले१ विकेट लिइन्। हिजो भएको खेलमा युएईलाई ५४ रनले हराउँदै आयोजक थाईल्याण्ड भने ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल भैसकेको छ।